Monday, March 18, 2013

मलेसियामा कामदार फेरि आन्दोलित कम्पनी परिसरमै झडप, २३ जना नेपाली पक्राउ

मलेसियामा कामदार फेरि आन्दोलित

  • कम्पनी परिसरमै झडप, २३ जना नेपाली पक्राउ

     

    मलेसिया, फाल्गुन ३० - मलेसियाली सरकारले गएको जनवरीदेखि नयाँ तलबमान र लेबी नीति लागू गरेलगत्तै विभिन्न कम्पनीमा कामदार आन्दोलित भएका हुन् । कतै झडपको अवस्था सिर्जना भएको छ । कतिपय कम्पनीमा झन्डै साता लामो आन्दोलनले कामकाज ठप्प छ ।
    नयाँ तलबमान माग गर्दै भएको आन्दोलनकै क्रममा शुक्रबार मुआरको पारि जामिलमा रहेको एक फर्निचर कम्पनीमा कम्पनीको व्यवस्थापन र कामदारबीच झडप भएको छ । आन्दोलित कामदार र व्यवस्थापनबीच भनाभन भइरहँदा दुई कामदारलाई कम्पनीका सुरक्षागार्डले नियन्त्रण लिन खोजेपछि झगडाले उग्र रूप लिएको त्यहाँ कार्यरत एक नेपालीले बताए ।
    करिब २ सय कामदार रहेको चुवाङ हेङ नामक उक्त कम्पनीमा भएको झडप साम्य पार्न प्रहरी बोलाउनुपरेको थियो । स्रोतका अनुसार झडपपछि २३ नेपाली पक्राउ परेका छन् । पक्राउ परेकाहरू मंगलबार साँझसम्म रिहा भएका छैनन् । घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय सुल्तान्ह फतिमाह स्पेसलिस्ट अस्पतालमा उपचार भइरहेको स्थानीय दैनिक 'न्यु स्ट्रेट्स टाइम्स' ले आफ्नो अनलाइनमा उल्लेख गरेको छ ।
    कामदार पक्षले कम्पनीको झ्यालका सिसा, टेबललगायतका सामानमा क्षति पुर्‍याएको भन्दै घटनापछि भोलिपल्टै कम्पनी पक्षले फोटोसहित दूतावासलाई जानकारी गराएको श्रम सहचारी अमलकिरण ढकालले बताए । समस्या समाधानका लागि यहाँस्थित नेपाली दूतावासका कर्मचारी कृष्णबहादुर विष्ट मंगलबार त्यस कम्पनीमा पुगेका थिए ।
    यसैबीच तलब सुविधाकै विषयलाई लिएर निलाईस्थित एक धागो उत्पादन हुने कम्पनीमा कार्यरत ४ हजार कामदार आन्दोलित भएका छन् । निलाईस्थित रिकोन मलेसिया एसडिन बीएचडी कम्पनीमा कार्यरत ४ हजार विदेशी कामदार गत ५ दिनयता काम ठप्प पारी आन्दोलित छन् । त्यहाँ करिब ४ सय ५० नेपाली कार्यरत छन् ।
    नयाँ तलबमान लागू गर्नुपर्ने लगायतका विभिन्न माग गर्दै  उनीहरू गत शुक्रबारदेखि आन्दोलित भएका हुन् । 'नेपालमा तोकेको न्यूनतम ५ सय ४६ रिंगेटमध्ये खानाको पैसा कटाएर दुई/तीन सय रिंगेट पनि बच्दैन' आन्दोलनमा सामेल कामदार मोरङका नेत्र पौडेलले भने, 'काम भने ११ घन्टा खट्नुपर्छ । तलब महिनाको २ सय रिंगेटमात्र दिइएको छ । नयाँ तलब दिन्न भनेपछि केका लागि काम गर्ने ?'
    काठमाडौंस्थित अञ्जली ओभरसिज सर्भिसेजलगायत विभिन्न म्यानपावर कम्पनीमार्फत मलेसिया पठाइएका उनीहरूले सम्झौतापत्रमा उल्लेख गरिएअनुसार न्यूनतम तलबमान लागू गर्नुपर्ने माग गरेका छन् । कम्पनी व्यवस्थापनले आफ्ना मागबारे खासै चासो नदिएकाले काम ठप्प पारेर आन्दोलनमा उत्रिएको उनीहरूले बताए । 'अहिले हामी कम्पनी परिसरमै छौं । आज बिहानैदेखि खैलाबैला छ । हामी आज ५ औं दिन पनि काममा गएनौं ।' आन्दोलित एक कामदारले मंगलबार कान्तिपुरसित भने, 'हामीलाई नयाँ तलब दिने सहमति नभइन्जेल काममा जाँदैनौं ।' त्यस कम्पनीमा नेपालीसहित दुई हजार भियतनामी र १ हजार ५ सय बंगलादेशी कामदार कार्यरत छन् । करिब ४ महिनाअघि नेपालस्थित म्यानपावर कम्पनीलाई १ लाख ३० हजार बुझाएर आएका नेपाली कामदारले आफ्ना समस्याबारे दूतावासमा पनि खबर गरिएको बताए ।
    दूतावासका श्रम सहचारी ढकालका अनुसार उनीहरूले केही दिनअघि समस्याबारे टेलिफोनमा जानकारी गराएका थिए । त्यसपछि फ्याक्समार्फत निवेदन पठाउन दूतावासले सुझाएको थियो । समस्याबारे दूतावासले मंगलबार पहल थालेको छ । 'भियतनाम र बंगलादेश दूतावासका साथीहरू पनि त्यहाँ पुगेका छन् । छलफल चलिरहेको छ । बुधबारसम्ममा समस्या टुंगिने आशा छ,' ढकालले भने ।
    समस्या बल्झेपछि समाधान गर्न नेपालबाट म्यानपावर कम्पनीका प्रतिनिधि बुधबार मलेसिया आउँदैछन् । समस्याबारे सोमबार कम्पनी, कामदार र श्रम विभागका पदाधिकारीबीच कम्पनी परिसरमै छलफल भएको जनाइएको छ । कम्पनीले अझै केही महिना पर्खनुपर्छ भनेकाले नयाँ तलब दिने सहमति नभएसम्म काम नगरिने आन्दोलित नेपालीले बताए ।
    मलेसियाली सरकारले गत जनवरीमा व्यापार घाटा एवं आर्थिक अवस्था कमजोर हुने रोजगारदाता कम्पनीका लागि नयाँ तलबमान कार्यान्वयन गर्न अर्को ६ महिनाको समयावधि -जूनसम्म) दिएको थियो । स्रोतका अनुसार उक्त धागो कम्पनीले ढिलो गरी कार्यान्वयन गर्न सरकारसँग अनुमति मागेको छ । अनुमति पाउने/नपाउनेबारे आगामी महिनामात्रै थाहा हुने भएकाले यस्तो समस्या आएको हो ।
    न्यूनतम तलब लागू नगरेको तथा लेबी मनपरी कटौती गरेको भन्दै पछिल्लो समय गुनासो बोकेर दैनिकजसो दूतावास पुग्ने नेपाली बढेको ढकालले बताए । यस्ता समस्या डेढ महिनायता ह्वात्तै बढेका छन् । नयाँ न्यूनतम तलबमानसम्बन्धी नीतिअनुसार लिबुवान, साबाह र सरावक बाहेकका क्षेत्रका हकमा मासिक ९ य रिंगेट लागू गरिएको छ । नयाँ तलब नदिएको र लेबी मनपरी लिएको जस्ता समस्या बढ्दै गएपछि कामदार आन्दोलित हुँदा नेपालीको प्रमुख रोजगार गन्तव्य मलेसिया थप प्रभावित हुँदै गएको छ ।
    'आन्दोलन नगर्न दूतावासको आग्रह'
    यसैबीच पछिल्लो समय विभिन्न माग राख्दै नेपाली आन्दोलित हुने क्रम बढ्न थालेपछि दूतावासले त्यसप्रति चासो जनाउँदै आन्दोलन नगर्न नेपाली कामदारहरूलाई आग्रह गरेको छ ।

    कार्यवाहक राजदूत लेखनाथ भट्टराईले आन्दोलन समस्या समाधानका लागि उपयुक्त बाटो नभएकाले काममा र्फकन नेपालीलाई आग्रह गरेका छन् । 'आन्दोलन गर्नु उपयुक्त तरिका होइन, यसले झन् समस्या बल्झाउँछ' उनले मंगलबार भने, 'बरु काम गर्दै गर्नुस्, दूतावासमा खबर गर्नुस् । त्यसपछि कानुनतः समस्या समाधान हुन्छ ।'मलेसियामा कामदार फेरि आन्दोलित कम्पनी परिसरमै झडप, २३ जना नेपाली पक्राउ

     

0 comments: